आफ्ना बालबालिकालाई स्टिम (STEAM) शिक्षाको लागि तयार गर्दा याद राख्नु पर्ने ५ कुरा

आफ्ना बालबालिकालाई स्टिम शिक्षाको लागि तयार गर्दा याद राख्नु पर्ने ५ कुरा

आजभोली सबैजसो विद्यालयहरूले स्टिम(STEAM) शिक्षामा जोड दिइरहेका छन्। स्टिम(STEAM) अर्थात् विज्ञान, प्रविधि, इञ्जिनियरिङ्ग, कला, र गणित सम्मिश्रित सिद्धान्त, जसले हाम्रा बालबालिकालाई एक्काइसौ शताब्दीमा उनीहरुले आफ्नो व्यक्तिगत र पेशागत जीवनमा सामना गर्नुपर्ने चुनौतीका लागी तयार गर्दछ। 

हामीले स्टिम शिक्षा र यसका लाभका बारेमा पक्कै पनि धेरै पटक सुनिसकेका छौँ। तर हाम्रा विद्यालयहरूले स्टिमलाइ आफ्नो शिक्षण प्रणालीमा अपनाउदै गर्दा हाम्रा बालबालिकालाई हामी यसका लागि कसरी तयार गर्न सक्छौँ त? तपाईंका बालबालिकालाई स्टिम शिक्षाको लागि तयार गर्न तपाईंले घरमा गर्न सक्ने ५ क्रियाकलापहरू हेरौँ।

 

१. सीपमुलक सिकाइमा जोड:

स्टिम शिक्षाले वस्तुगत ज्ञानको साथसाथै सिपमुलक सिकाइमा पनि जोड दिनेगर्दछ। यहाँ भन्दा तल दिइएका सबै बुँदाहरू कुनै न कुनै सीपसँग सम्बन्धित नै छन्। यी बाहेक सरसफाई, व्यवस्थापन, र साधारण संचारका सीपहरू घरमै सिकेर गएका विद्यार्थीले कक्षामा समूहमा काम गर्ने, वस्तु र समय व्यवस्थापन गर्ने जस्ता कामहरू सजिलै गर्न सक्दछन्।

 

२. हेर्दै र गर्दै सिक्ने क्रियाकलापहरू:

घरको भान्छा, बाथरूम, करेसाबारीमा सधैजसो गरिने कामहरू बाट बालबालिकाले विज्ञान र गणितका पाठहरू सिक्न र प्रयोग गर्न सक्दछन। आफूले दैनिक जीवनमा गर्ने यस्ता कामहरूमा आफ्ना बालबालिकालाई पहिला अवलोकन गराएर र पछि संगै काम गराएर तपाईंले उनीहरुको हेर्दै र गर्दै सिक्ने खुबीको विकास गर्न सक्नुहुन्छ। यो खुबीको प्रयोगले उनीहरुले कक्षामा र कक्षा बाहिर विभिन्न क्रियाकलापलाइ निरिक्षण गर्न र नेतृत्व गर्न पनि सिक्दछन।

 

३. पुराना उपकरणहरूको प्रयोग:

घरमा भएका पुराना उपकरणहरूको प्रयोगले विद्यार्थीको सिकाइलाइ सहयोग गर्न सकिन्छ। यी उपकरणहरूसँग खेल्दै, खोलेर भित्रका भागहरूको अध्ययन गर्दै उनीहरुले मानव निर्मित उपकरणहरुको विज्ञान बुझ्न सक्दछन्। त्यस्तै यस्ता क्रियाकलापबाट उनीहरुले डिजाइन र इञ्जिनियरिङ्गका उदारहणहरू पनि देख्दछन्।

 

४. औजारको सुरक्षित प्रयोग:

स्टिमका क्रियाकलापहरू धेरै प्रकारका हुन्छन र कतिपय क्रियाकलापमा विद्यार्थीले विभिन्न औजारहरू जस्तै कैची, पेपर कटर, किला, पिन, जस्ता औजारहरू प्रयोग गर्दछन्। यसको लागी बालबालिकाले ती औजारहरूको सुरक्षित प्रयोगको बारेमा जान्न जरुरी छ। घरमा आफूसंगै राखेर बालबालिकालाइ औजारहरूको सुरक्षित प्रयोगका बारेमा सिकाइयो भने उनीहरू अझै बढी सावधान हुन्छन।

५. प्रस्तुतीकरणलाई प्रोत्साहन:

विद्यार्थीले विभिन्न क्रियाकलाप गर्दै गर्दा उनीहरूले आफ्नो अध्ययन र विचारलाई प्रष्टसंग र निर्धक्क राख्न पनि सक्नुपर्दछ। घरमा आफ्ना बालबालिकाको विचारलाई सुनेर र उनीहरुलाई आफूले सिकेका र अनुभव गरेका कुरा भन्न लगाएर उनीहरूको प्रस्तुतीकरणको सीपलाइ प्रोत्साहन गर्न सकिन्छ।