आमा भन्नुहुन्थ्यो ,बाबु सरकारी जागिर खा !

आमा भन्नुहुन्थ्यो ,बाबु सरकारी जागिर खा ! कमाइ राम्रो हुन्छ रे

म भन्थें , मज्जाले काम गरे  कमाइ त भैहाल्छ नि आमा

आमा भन्नुहुन्थ्यो बाबु सरकारी जागिर खा ! काम गर्न सजिलो हुन्छ रे

म भन्थें , आफुलाई मन पर्ने काम गरे आफै सजिलो भईहाल्छ  नि आमा

आमा भन्नुहुन्थ्यो ,बाबु सरकारी जागिर खा ! ठुलो मान्छे भईन्छ रे

म भन्थें , मलाई ठुलो मान्छे हैन राम्रो मान्छे बन्नु छ नि आमा

हुन त ! आमाको मन न हो , आफ्नो सन्तानको

कमाइ राम्रो होस् भनेर भन्ने

काम सजिलो होस् भनेर ठान्ने

अनि होस् ठुलो अनि जान्ने

मैले नै नबुझेको रहेछु कत्रो कमाइ भन्नु भएको रहेछ आमाले

मेरो लागि मात्र हैन , अर्को सात पुस्ताको जिम्मेवारी दिनुभएको रहेछ आमाले

मैले पो आँखा चिम्लेको रहेछु कति सजिलो भन्नु भएको रहेछ आमाले

दिनभरी घरमै बसेनी कमाइ हुने पो देख्नु भएको रहेछ आमाले

मैले नै देखेनछु कति ठुलो भन्नु भएको रहेछ आमाले

सबै मेरो वरपर घुमेको देख्नु भएको रहेछ आमाले

सायद दुख लाग्थ्यो होला आमालाई मैले सरकारी जागिर खाइन

तलब भन्दा धेरै माथि मैले केहि कमाइन

सायद दुख लाग्थ्यो होला आमालाई मैले सरकारी जागिर खाइन

कामले गर्दा दौडेको दौडै आरामले बस्न पाइन

सायद दुख लाग्थ्यो होला आमालाई मैले सरकारी जागिर खाइन

ठुला – ठुला मान्छे जस्तो व्यवहार मैले देखाइन

आजकल आमा सन्तोषी हुनुभएको छ

कमाइको कुरा गर्नु हुन्न , खान लाउन दुख छैन

अरुलाई दुख दिएर, कमाउनु पर्दैन भन्नु हुन्छ

सजिलो कामको कुरा गर्नु हुन्न , सायद मलाई खुसि देख्नुहुन्छ

मलाई जे मनपर्छ त्यहि गर भन्नु हुन्छ

ठुलो मान्छे भन्ने कुरा गर्नु हुन्न , मान्छेले राम्रा कुरा गर्दाहुन् मेरो बारे

ठुला हैन असल काम गरेस् है बाबु भन्नु हुन्छ

त्यहि पनि आमा रोएको आवाज गुन्जिरहन्छ मेरो कानमा

सुक्क सुक्क आवाज अनि भिजेको  मन मेरो भानमा

मलाई जन्म दिने आमा रुनु भएको छैन

तर रोहिरहेकी छिन् मेरो नेपाल आमा

सायद सबैले सुनेनन् होला सायद सबैले बुझेनन् होला

नेपाल आमा रोएको आवाज आउने गर्छन धेरै ठाउं बाट

नेपाल आमा रोएको आवाज सुन्छु त्यो काठको बाकस घिस्रेको त्यो एरपोर्ट बाट फर्केको लासमा

नेपाल आमा रोएको सुन्छु त्यो भिजेका आँखामा जसले आफ्नो सन्तान गुमाए अस्पताल पुग्ने आशामा

नेपाल आमा रोएको सुन्छु त्यो छोरीको चिच्याहटमा जसको अस्मिताको लुटिएको छ कहिले लुकेर त कहिले बजारमा

नेपाल आमा रोएको सुन्छु जब एउटा दानव ठुला ठुला अपराध गरेर मुस्कुराउदै हिंडछन्  अनि विक्छन न्याय  मात्र केहि हजारमा

त्यो बेला मा फेरी सुन्छु मेरो आमाको आवाज, बाबु सरकारी जागिर खा !

आफ्नो कमाइको कुरा छोड लाखौ मान्छे को पेट भर्न्नु छ

बाबु सरकारी जागिर खा !

आफ्नो सजिलोको कुरा नगर बाबु , लाखौ मान्छेको थोरै भएनी सजिलो गर्नु छ

बाबु सरकारी जागिर खा !

ठुलो मान्छे अरुको आदरले हैन मायाले भइन्छ , माया गर्न माथि हैन तेही भुइंमा झर्नु छ

बाबु सरकारी जागिर खा !

तर मेरो आमालाई एउटै जवाफ

मैले समयमा सरकारी जागिर खान सकिन आमा

सायद मलाई फोहोर भित्र गएर सफा गर्नु थिएन

मैले समयमा आफ्नो जिम्मवारी बुझिन आमा

मलाई सायद मेरो आफ्नै पहिचान बुझ्नु थिएन

तर आमा , सरकारी जागिरको कुरा हैन

तिमी रोएको देख्न अब सकिन्न

सक्ने जति आफ्नो ठाउंबाट म गर्छु आमा

सकिन भने मेरो सन्तानलाई म आफै भन्ने छु आमा

नानी सरकारी जागिर खा !

…………………………………………………………………………………………………………………………………

– पवित्र बहादुर गौतम

प्रमुख कार्यकारी अधिकृत

कारखाना