असफल हुन्छु कि भन्ने डर सबैमा हुन्छ । हामीमध्ये धेरैले यस्तो डर एक वा धेरै पटक अनुभूति गरेका छौं, यो लुकाइराख्नुपर्ने कुरा होइन । हामी यस्तो संसारमा छौं जहाँ हाम्रो कामहरुलाई निरन्तररुपमा मूल्यांकन गरिन्छ, विशेषगरी विद्यालयमा असफलतालाई नराम्रो अनुभवको रुपमा लिइन्छ । तर, हामीले बालबालिकालाई असफल हुनु भनेको राम्रो कुरा हो भनेर सिकायौं भने के होला ? यसले उनीहरुलाई सहयोग गर्ला ?
असफलता नयाँ सुरुवात हो ।
वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले एक पटक भनेका थिए– असफलता भनेकै सफल हुने प्रक्रिया हो । कुनै नयाँ कुराको लागि प्रयास गर्दा असफलतालाई नकार्न सकिन्न । त्यसकारणले हाम्रा बालबालिकालाई कसरी असफल हुने र हरेक असफलताबाट के पाठ सिक्ने भनेर थाहा पाउन सहयोग गर्छ ।
सामान्यरुपमा भन्दा असफलता भनेको फेरि सुरु गर्ने एउटा अवसर हो । त्यसकारण असफलता , सफल हुनको लागि नयाँ मौका पनि हो । यदि हामीले यो सन्देश आफ्ना बालबालिकालाई दिन सक्यौं भने यसले उनीहरुलाई जीवनभरको लागि सहयोग गर्छ । जीवनमा असफलता भोगेर पनि सफल भएका व्यक्तिहरुको कथा सुनाउदा पनि बालबालिकालाई उत्प्रेरित गर्न सकिन्छ ।
असफलतादेखि सफलतासम्म….
यहाँ केही रोचक वास्तविक जीवन कथाहरु छन् जसले हार खाएनन् र असफलतालाई सफलताको भर्याङ बनाए ।
१. स्टिभ जब्स (Steve Jobs) सुरुमा एप्पल कम्पनीबाट निकालिएका थिए ।
-
-
- स्टिभ जब्स चर्चित अमेरिकी उद्यमी हुन् जसलाई मानिसहरु उनको फरक नेतृत्व तथा आविष्कारका कारणले चिन्छन् । तर उनी आफ्नो जीवनकालमा कयौं पटक असफल भए ।
- उनले तयार पारेको एप्पल कम्युटरमा हार्डवेयर सम्बन्धी धेरै समस्याहरु देखिएको थियो । धेरै इन्जिनियरहरुलाई यो कम्युटरले काम गर्न सक्दैन भन्ने लागेको थियो ।
- धेरैले विश्वास नगरे पनि उनले नयाँ नयाँ डिजाइनको लागि प्रयास गरिरहे र अन्त्यमा आइम्याक र आइफोनजस्तो डिभाइस तयार पारे ।
- उनी ३० वर्षको हुँदा एप्पल कम्पनीको सञ्चालक समितिले उनलाई कम्पनीबाट निकाल्ने निर्णय गरेको थियो ।
- धेरै वर्षपछि फेरि एप्पलले उनलाई काममा बोलायो र उनले आफ्नो पुरानो असफलताबाट पाठ सिकेर एप्पललाई संसारकै ठूलो ब्राण्ड बनाए ।
-
२. अल्बर्ट आइन्स्टाइनका (Albert Eintein) शिक्षकले भनेका थिए–यो मान्छेले जीवनमा केही प्रगति गर्न सक्दैन ।
यो संसारमा अल्बर्ट आइन्स्टाइनको नाम थाहा नभएका मानिस निकै थोरै छन् । कसैलाई विलक्षण प्रतिभा भएको व्यक्तिको संज्ञा दिनुपर्यो भने आइन्स्टाइनको नाम लिइन्छ । आइन्स्टाइनजस्तो व्यक्ति सधैं सफल मात्रै भएको हुनुपर्छ, हामीलाई त्यस्तो लाग्न सक्छ । तर हामीले यस्तो सोच्यौं भने गलत हुन्छौं । आइन्स्टाइन जीवनमा धेरै पटक असफल भएका थिए ।
- नौं वर्षको हुँदासम्म आइन्स्टाइनको बोली नै फुटेको थिएन । उनको शिक्षकले उनलाई जीवनमा केही गर्न सक्दैन भनेर टिप्पणी गरेका थिए ।
- धेरै चकचके भएका कारण उनी स्कुलबाट निकालिएका थिए ।
- उनी जीवन चलाउन हुलाकी कार्यालयमा साधारण पदमा जागिर गर्थे र सोही खर्चबाट आप्mनो भौतिक विज्ञानसम्बन्धी परीक्षणको लागि पैसा जुटाउथे ।
- तर यी सारा असफलताको बाबजुद उनले सन् १९२१ म भौतिक विज्ञानतर्फ नोबेल पुरस्कार जिते र विश्व चर्चित वैज्ञानिकको रुपमा दरिए ।
असफलताबाट पाठ सिकेर सफलता हात पार्नेहरु टाढाका मानिसहरु मात्रै छैनन्, यस्तै बाटो रोजेका दुई नेपालीको पनि यहाँ चर्चा गरौं ।
३. पुष्पा बस्नेत (Pushpa Basnet)
समाजमा प्रभाव पार्ने र अरुको जीवन बदल्ने कामको लागि संसारभरका लाखौं मानिसलाई प्रभावित पार्ने खालको छ बस्नेतको जीवन यात्रा । सन् २०१२ मा सीएनएन हिरो र सन् २०१६ मा सीएनएन सुपर हिरो अवार्ड जितेकी बस्नेतको कथाले असफलताबाट कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण दिन्छ ।
- उनी कक्षा १० मा पढ्दा गणित बिषयमा फेल भइन जसका कारण उनका आमाबुवा छोरीको पढाईलाई लिएर चिन्तित बने ।
- फेल भएपछि फेरि जाँच दिन उनले एक वर्ष कुर्नुपर्ने भयो, सोही समयको सदुपयोग गर्न उनले अनाथालयमा स्वयम्सेवकको रुपमा काम गरिन र सामाजिक सेवामा आफ्नो रुची जगाइन ।
- अहिले उनी पुतली घर नामक अनाथालय सञ्चालन गर्छिन जुन धेरै बालबालिकाको लागि पढ्ने र बस्ने घर हो ।
- कारागारमा रहेका बालबालिकाको खाने, बस्ने र पढ्न पाउने अधिकारको लागि बस्नेतले आफ्नो जीवन अर्पण गरेकी छन् ।
४. निश्चल बस्नेत (Nischal Basnet)
‘जीवनमा केही काममा पनि सफल हुन्छु भन्ने विश्वास लाग्न छाडिसकेको थियो । जति वटा क्षेत्रमा हात हाले पनि मलाई असफलता मात्रै हात लागेको थियो । म एकदमै निराश भइसकेको थिएँ,’ निश्चलले एक अन्तर्वार्ताको क्रममा भनेका थिए । हामीले कुरा गरिरहेको निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक, कलाकार र गायक हुन् ।
- राम्रो चलचित्र बनाउने उद्देश्यसहित उनी अष्ट्रेलियाबाट नेपाल फर्किएका थिए । सुरुमा उनले फिल्म सुटिङ हुने स्थानमा स्पट ब्वाइ (कलाकारको सहयोगी) को रुपमा काम गरे ।
- पछि उनले आफ्नो निर्देशनमा ‘लुट’ नामक चलचित्र बनाए जसले २ करोड ५५ लाख रुपैयाँ आम्दानी गर्यो।
चर्चित व्यक्तिले मात्रै असफलताबाट पाठ सिकेर सफलता पाएका हुन्नन् । हामीले नामै नसुनेका व्यक्तिले पनि असफलताबाट पाठ सिकेर सफलता पाइरहेका हुन्छन् । अब टेम्पो चालक लक्ष्मी दिदीको कथा पढौं ।
५. लक्ष्मी शर्मा (Laxmi Sharma)
- ६९ वर्षकी लक्ष्मी शर्मा टेम्पो चलाउँने नेपालकै पहिलो महिला चालक हुन् र उनले लक्ष्मी उड क्राफ्ट उद्योग स्थापना गरेकी छन् ।
- उनको १३ वर्षको उमेरमा विवाह भएको थियो । पतिको निधन भएपछि परिवार पाल्न उनले ३५ वर्षअघि टेम्पो चलाउन थालेकी थिइन ।
- टेम्पो चलाउँदै, कहिले अरुको घरमा सहयोगीको रुपमा काम गर्दै उनले आफ्ना तीन सन्तानलाई पालनपोषण गरिन र आफ्नै ह्याण्डीक्राफ्ट व्यवसाय सुरु गरिन
- पुरुषको दबदबा रहेको समाजमा उनले राजनीतिक देखि प्राकृतिक विपद्को सामना गरिन तर सबै परिस्थितिको सामना गर्दै उनी यो स्थानमा आइपुगेकी छन् ।
- जीवनप्रति उनको दृष्टिकोण सामान्य छ : इमानदार, विश्वसनीय र आत्मविश्वासी
यदि हामी हाम्रा बालबालिका साना आइन्स्टान बनून भन्ने चाहन्छौं भने आइन्स्टाइनले भनेको कुरा पनि याद राख्नुपर्छ– जो व्यक्तिले कहिल्यै गल्ती गरेको छैन, त्यो व्यक्तिले कहिल्यै नयाँ काम गरेको छैन ।
हामीले हाम्रा बालबालिकालाई हाँसीहाँसी गल्ती गर्न र गल्तीबाट पाठ सिकेर फेरि पनि प्रयास जारी राख्न सिकाउनुपर्छ ।