परीक्षाका बेला बालबालिकालाई अभिभावकले गर्नै पर्ने सात सहयोग।


December 21, 2020

स्कुले जीवन सकिएपनि बालबलिकाको परीक्षा संगै अभिभावकको पनि परीक्षा सुरु हुन्छ। परीक्षाको समयमा हाम्रा बालबालिका दबाबमा पर्दछन् र तनावग्रस्त हुन्छन्। हामी कसरी उनीहरूलाई यो कठिन समयको सामना गर्न मद्दत गर्न सक्छौं? उनिहरुलाई स्वस्थ र तनाबमुक्त राख्नका  लागि उपयुक्त तरिका के होलान्?  कारखानाले यो बिषयलाई लिएर उठिरहने यस्ता प्रश्नहरूको जवाफ को खोज गर्दा पाएका सुझावहरू निम्न सात बुदाँमा राखिएको छ:

१. पढाईको भार घटाऊन पुर्व तयारी गर्नुहोस्।

अन्तिम मिनेट मा हतासिँदा न राम्ररी सबै कुरा पढ्न भ्याईन्छ न सोच्न। यसरी अन्तिम क्षणमा हतारीँदै गरेको तयारीले परीक्षामा राम्रो पारीणाम दिँदैन। उल्टै पढाईको भारले बालबालिका अतालिन्छन्। यदि समय छ भने, आफ्ना बालबालिकाको परीक्षाको तयारी परीक्षाभन्दा एक महिना वा दुई हप्ता अघि सुरु गर्ने योजना बनाउनुहोस्। समयमा तयारी गर्दा उनिहरुको कमजोर विषयलाई ध्यानमा राखेर पाठ्यक्रम अनुसार तालिका बनाउन सहज हुन्छ।  तर पढ्न बसेर मात्र तयारी हुन्छ भन्ने निस्चित हुँदैन। पढेका कुरा अरुलाई बुझाउन र लेख्न सकेमा मात्र साँच्चै जानिन्छ। त्यसैले फुर्सदमा उनिहरुले पढेका विषयबस्तुका बारेमा छलफल गर्नुहोस्। लेख्दै पढ्दा पढेका कुरा स्पस्ट हुने साथै सोचाइ र लेखाइ को तालमेल पनि बढ्ने भएकाले यसको निरन्तर अभ्यासले बालबालिकालाई जाँचको बेला स्मरण गर्न र लेख्न मद्दत गर्छ।

 

यद्यपि, प्रारम्भिक तयारी गर्दा पढेका कुरा बिर्सदै जान सक्ने हुँदा उनिहरुलाई नोट, फ्ल्याश कार्डको प्रयोग गर्न सम्झाउन सकिन्छ।  अवश्य पनि, परीक्षाको चपेटमा यो सम्भव नहुन सक्छ र बच्चाहरू कुनै न कुनै तरीकाले तनावमा रहन्छन। समय अपुग रहँदा उनिहरुलाई तनाबमुक्त राख्न निम्न पाँच सल्लाहहरूले तपाइँ र तपाइँका बालबालिकाको मद्दत गर्न सक्छ।

२. उनिहरुसँग कुरा गर्नुहोस्।

मनमा लागेका कुरा भन्न पाउदा मन हलुका हुन्छ। परीक्षाको समयमा बालबालिकालाई अभिभावक र शिक्षकले आशा गरेको प्रतिफल ल्याउन पनि दबावमा हुन्छन। उनिहरुलाई अभिभावकको हौशला र सन्त्वनाको खाँचो हुन्छ। त्यसैले परीक्षा सुरु हुन अघि र परीक्षा दिईसकेपछी उनिहरुसँग कुरा गर्ने समय निकाल्नुहोस्। यदि कुनै परीक्षा बिग्रिएको छ भने त्यस्को नकारत्मक प्रतिकृया नदिई उनिहरुलाई आउदो परीक्षाकोलागि राम्ररी तयार गर्न हौशला दिनुहोस्।

३. मिठो मात्र हैन, पोषीलो र स्वस्थ खाना ख्वाउनुहोस्।

शरीरले आराम खोज्नु स्वभाविक कुरा हो। तर तनाब र चिन्तामा हुँदा हामी छिटै राहत पाइने माध्यम खोज्छौँ।  त्यसैले पनि बच्चाहरू प्राय: परीक्षाको समयमा नूडल्स, चिप्स, आइसक्रीम, आदि बढी खाने गर्छन् । उनिहरुलाई थाहा हुँदैन कि जंक फुडको स्वादले क्षनीक राहत मात्र दिन्छ। यसमा पाइने आर्टीफीसियल फ्लेवर्सले कोर्टीसोल जस्ता शारीरिक तनाव पैदा गर्ने हर्मोनहरूलाई बढाउन सक्छ। पढ्दा थाकेको शरीरलाई जंक फुडले झनै थकाउन सक्छ, भोक मेट्न खाए पनि झनै भोक लगाउन सक्छ, र कहिलेकाही परीक्षा को मुखैमा बिरामी बनाउन सक्छ। त्यसैले परीक्षाको समयमा उनिहरुको खानकीको विशेष ख्याल राख्नुपर्ने हुन्छ। घरैमा बनेको सन्तुलित खानामा शरीरलाई चाहिने सम्पूर्ण पोषण हुन्छ। ओमेगा-३ र फाईदाजनक फ्याट्टी एसिड पाइने खानेकुरा जस्तै माछा, गेडागूडी आदिले तनावबाट शरीरलाई जोगाउने कुरा अनुसन्धानले पनि पत्ता लाएको छ।  सन्तुलित खाना खाँदा शरीरमा तागत र जाँगर रहन्छ जसले बालबालिकालाई शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहन मद्दत गर्छ।

४. मेडीटेसन सिकाउनुहोस्।

तनावले हाम्रो श्वासप्रस्वाँसमा प्रत्यक्ष असर पार्दछ जसले हाम्रो दिमागलाई गलत संकेत दिन सक्छ। यसै कारण कुनै पनि कुराले तनाव दिँदा रक्तचाप बढ्ने र झनै अतालिने जस्ता लक्षन महशुस हुन्छ।  मेडिटेसन अर्थात ध्यानले सबै ध्यान श्वासप्रवस्मा केन्द्रित गराइ त्यसलाई नियन्त्रन गर्न मद्दत गर्छ। विशेषगरी परीक्षाको बेला बालबालिकाको मस्तिस्क बढी सकृय हुन्छ। ध्यानले उनिहरुलाई अनावश्यक बिचार बाट मुक्त गराई मनलाई शुद्ध र शान्त बनाउँछ ।  तपाईंलाई ध्यानको बारेमा थाहा छ होला। यदी थाहा छैन भने पनि यस विषयमा थुप्रै लेख र चर्चा छन् जुन तपाईंले ईन्टरनेटमा सजिलै पाउन सक्नु हुन्छ। नियमित ध्यानका साथै चिन्ताबाट तत्काल राहतका लागि आफ्ना बच्चाहरूलाई सास फेर्ने व्यायामहरू सिकाउनुहोस्।

५.उनिहरुलाई खेल्न दिनुहोस् (भीडीयोगेम होइन)।

परीक्षाको समयमा, अभिभावकहरुले प्रायः बालबालिकालाई अध्ययनमा पूर्ण ध्यान केन्द्रित गराउने उद्देश्यले सकेसम्म एउटै ठाउमा बसेर पढुन् भन्ने चाहन्छन । यसरी एकै ठाउँमा बसेर पढ्दा बालबलिकाहरु मानसिक रुपमा झनै विचलित हुने सम्भावना बढी हुन्छ। किनभने, हाम्रो मस्तिस्क गुल्कोज र अक्सीजनको भरमा चलेको छ जुन शरीरले रगतको माध्यमबाट मस्तिस्कसम्म पुर्याउछ। चुपचाप एकै ठाउँमा बस्दा शरीरको स्फुर्ती गट्छ र मस्तिस्कमा ताजा अक्सीजनको कमी हुन्छ। यसका कारण बालबालिकामा आलस्यता र तनाव झनै बढेर आउछ। रक्त संचार स्वस्थ राख्न कम्तिमा पनि दिनको ३० मिनेट बालबालिकालाई खेल, दौड, पौडी, व्यायम जस्ता कृयाकलाप मा समेल हुन दिनुहोस्। व्यायम गर्दा शरीरले ईन्डोर्फिन नामक हर्मोन पैदा गर्छ जसले तनाव र चिन्ता दुर गर्छ।

६. उनिहरुको र आफ्नो रुटिन बनाउनुहोस्।

 

परीक्षाको समयमा बालबालिकाका लागि पढाई नै प्राथमिकता हुनुपर्छ। जाँचको बेलामा सम्पूर्ण परिवारका सदस्यले घरमा पढ्ने वातावरण कायम राखी यसमा उनिहरुलाई मद्दत गर्न सकिन्छ।  यसको प्रथम जिम्मेवारी अभिभावकको हुन्छ। परीक्षाको समयमा अचानक आएको परिवर्तनसँग बालबालिका आफुलाई ढाल्न नसक्दा पनि मानसिक तनाव हुने भएकोले यो समय व्यवस्थित हुनु पर्दछ। धेरै अध्ययन र विज्ञहरूको सुझाव अनुसार आफूलाई शान्त र सन्तुलित राख्ने एउटा उपाय भनेको तालिका अर्थात रुटिन बनाउनु हो।

 

रुटिन बनाउँदा आफ्नो बच्चाको सामान्य दिनको आधारमा बनाउनुहोस्। रुटिनमा पढाई सँगै उनिहरुको अन्य गतिबिधिलाई पनि समय दिनुहोस्। पढ्ने समय बढाउनका लागि खेल्ने, खाने, जस्ता अतिरिक्त मनोरन्जन्का कृयाकलाप बाट थोरै थोरै समय निकालेर पढ्ने समयमा थपिदिनुस्। यसले बालबालिकालाई परीक्षाको समय सामान्य दिनहरू भन्दा धेरै फरक नभएको अनुभुती दिन्छ। रुटिन दुइटा बनाउनुहोस्। एउटा जसले नियमित गतिविधिहरू जस्तै खान, निद्रा, आदि समावेश गर्छ र जुन परिवारका सबै सदस्यहरूमा लागू हुन्छ। अर्को, जसले बालबालिकालाई पाठ्यक्रम अनुसार पढ्न सहयोग गर्छ । यि दुवै रुटिन यसरी बनाउनुहोस् कि बालबालिकाको पढ्ने समयमा कुनै पनि बाधा आवरोध नआओस। समय तोकेर पढ्दा बालबालिकाहरुले एक समयअबधिमा एउटा कुरामा ध्यानकेन्द्रित गर्न पाउछन। यसो गर्नाले न त समय खेर जान्छ, न नै बालबालिकाको चिन्ता बड्छ।

७. बालबालिकालाई समय मै सुत्न दिनुहोस्।

सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंको बालबालिकालाई परीक्षामा पर्याप्त निन्द्रा चाहिन्छ। पढ्न नभ्याउँदा रातभरी बसेर तयारी गर्नु कहिलै पनि राम्रो विकल्प हुँदैन। निन्द्रा नपुग्दा पढेका कुरा सम्झन झनै गाह्रो हुन्छ। डाक्टरहरूको अध्ययनले भन्छ, पर्याप्त निद्रा नहुनु लगभग रक्सी पिउनु जस्तै हो, जब मानिसहरूले पर्याप्त निद्रा पाउँदैनन्, उनिहरुको स्पष्ट रूपमा सोच्न र राम्रो निर्णय गर्न सक्ने क्षमता कम हुन्छ। निन्द्रा नपुग्दा बालबालिकाको तनाव  बड्छ। समयमै सुत्ने र समयमै उठ्नाले शरीर र मस्तिस्कलाई चहिने आराम दिन सकिन्छ। उमेर अनुसार, प्रति दिन कम्तिमा आठ घण्टा निन्द्रा अनिवार्य मानिन्छ। तर आठ घण्टा सुत्दैमा निन्द्रा पुगेको भन्न चैँ मिल्दैन। कहिलेकाही आठ घण्टा सुतेर उठ्दा पनि बालबालिका पढ्दा पढ्दै निदाउँछन। यो गुणस्तरीय निद्रा को अभाव को कारण हुन सक्छ। सुत्ने कोठाको तापक्रम, अध्याँरो, उज्यालो, ओछ्यानको बनोट, सुत्ने तरिका, आदि मा पनि निन्द्राको गुणस्तर भर पर्ने भएकाले सुत्नु अघी यि सबै कुरा ख्याल राख्नुपर्छ।

 

परीक्षाको समयमा अभिभावक को मुख्य जिम्मेवारी आफ्ना बालबालिकाकालागी तनाव मुक्त वातावरण सुनिश्चित गर्नु हो। जाँच त आउछन् जान्छन तर तनावले शरीर मा पर्ने असर दिगो हुन्छ। त्यसैले यो समयमा उनिहरुको विशेष ख्यालराख्न जरुरी छ। माथि उल्लेखित सबैकुरा तपाईंको अवस्थामा लागु नहोला, तर हामीलाई आशा छ तपाईंको प्रयास सफल हुनेछ।