एउटा बेग्लै सिकाई अनुभव


March 2, 2021

पद्मकन्या विद्याश्रममा कक्षा पाँचमा पढ्ने अनुष्काले यो हप्ता एउटा नयाँ किसिमको सिकाइ अनुभव गरिन्। आफ्नै कक्षाकी अर्की साथीसँग अनुष्का विद्यालयको पुस्तकालयमा आइपुगिन्। त्यहाँ उनीहरू बाहेक ६, ७, र ८ मा पढ्ने दिदीहरू पनि हुनुहुन्थ्यो। कक्षामा उनीहरूले पहिले नदेखेका दुई शिक्षकहरू पनि हुनुहुन्थ्यो। बिस्तारै एक जनाले आफ्नो परिचय दिदै कक्षा सुरु गर्नुभयो र भन्नुभयो, “ आज बाट हामि तीन दिनको STEAM कार्यशाला सुरु गर्दै छौँ।”

 

अनुष्काले अनौठो मानिन्। “STEAM भनेको के होला?” उनले सोच्न थालिन्। 

त्यो दिनको कक्षामा उनीहरुलाई पहिले नचिनेका दिदीहरूसंग समूहमा बसाइयो र प्रदुषण कम गर्ने एउटा गाडीको नमुना बनाउने काम दिइयो। बिच बिचमा शिक्षकले रोकेर प्रश्नहरू सोध्नुहुन्थ्यो। 

“यहाँ तिमीहरूको उत्तर सहि गलत भन्ने हुँदैन, त्यसैले तिमीहरू आफ्नो विचार नहिच्किचाई राख है!” उहाँले भनिरहनुहुन्थ्यो। तर अनुष्कालाई आफूभन्दा ठूला दिदीहरूको अगाडी आफ्नो विचार राख्नै अप्ठेरो लाग्यो। उनलाई आफ्नो विचार भन्ने आँटनै आएन। 

केहि बेरमा उनीहरूले बनाएका गाडीहरूको नमुनाहरूको प्रस्तुति र जाँच भयो। कुनै समूहका नमुना निकै नयाँ थिए भने कुनै समुहका नमुनाहरू धेरै दुरी सम्म गुड्न सक्दथे। केही दिदीहरूले गाडी बनाउदा आफ्ना विज्ञानका पाठहरू पनि बुझ्नुभएछ। अनुष्काले सबैको कुराहरू ध्यान दिएर सुनिन्। तर पहिलो दिनमा अनुष्काले आफ्नो विचार भने राखिनन्।

दोस्रो दिन कक्षामा पुग्दा शिक्षकहरूले धेरै औजार र उपकरण कक्षामा राख्नुभएको रहेछ। केही बेर पछि एउटा पेचकस देखाउदै शिक्षकले “यो कसले चिनेको छ?” भनेर सोध्नुभयो।

यसपाली अनुष्काको हात सबैभन्दा पहिले उठ्यो, “सर, त्यो पेचकस हो। मैले चलाएको छु।” उनले भनिन्। 

सरले उनलाई धन्यवाद दिदै पेचकसको काम सबै कक्षालाइ बताउन लगाउनुभयो। 

त्यसपछि त अनुष्काले सधै हात उठाउन थालिन्। अनुष्का र अरु दुइ दिदीहरूले मिलेर आरीको प्रयोग गरेर काठ कसरी काट्न सकिन्छ, र कसरी त्यसको सुरक्षित प्रयोग गर्न सकिन्छ भनेर कक्षालाइ देखाए। यसमा उनीहरूलाई शिक्षकहरूले पनि मद्दत गर्नुभयो। कसरी काठलाई सिधा काट्न सकिन्छ, आफ्नो हात नदुख्ने गरी काट्न के गर्नुपर्छ भनेर उनीहरूले सबैजनालाई प्रस्तुत गरे। उनीहरूको प्रस्तुति पछि कक्षाका बाँकी सबैजनाले उनीहरूले सिकाए जस्तै गरी काठ काटे।  

त्यस कक्षामा उनीहरूले आरी र पेचकस जस्तै धेरै औजार र उपकरणहरू देखे र त्यसको सुरक्षित प्रयोगको बारेमा सिके। 

कक्षा सकिने बेलामा सरले त्यस दिन सिकेका कुराहरू सबै कक्षालाइ सोध्नुभयो। सबैले विभिन्न कुराहरू सिकेको बताए, जस्तै, समूहमा मिलेर काम गर्न, एक अर्काको बिचार सुन्न, विभिन्न औजार चलाउन, र आफ्नो गल्तीबाट सिक्न।

“अब आज सिकेका कुराहरू आफ्ना साथीलाई कसले सिकाउन सक्छ?” कक्षाको अन्त्यमा सरले सोध्नुभयो। 

अनुष्काको हात सबैभन्दा माथि उठ्यो।