छुकछुक गर्दै, सिक्दै


March 23, 2021

हामी धेरै जना सानो हुँदा रेडियो चलाएर हेर्न खोज्दा, या टेलिभिजन भित्र कसले बोल्छ भनेर हेर्न खोज्दा, या माटोमा बिरुवाको जरा कति तलसम्म जाँदो रहेछ भनेर हेर्न खोज्दा, हामीलाई हामीभन्दा ठूलाहरुले “कस्तो छुकछुक गरेको!” भनेर कराउनु हुन्थ्यो। अहिले पनि कतै हामीले हाम्रा बालबालिकाले माटोसंग खेलिरहेका, रिमोट खोल्न खोजिरहेका देख्यौं भने हामी छुकछुक नगर्न भनिहाल्छौँ। छुकछुक गर्दा, विभिन्न सामानलाइ चलाउन खोज्दा खतराहरु त पक्कै छन्, तर यी क्रियाकलापले बालबालिकाको सिकाइ र बुझाइमा ठुलो भूमिका खेलेको हुन्छ। 

छुकछुक गर्दै सिक्नुको केही फाइदाहरू हेरौँ:

१. बुझाईमा सहयोग

विद्यार्थीले आफुले सिकेका कुराहरू अरुलाई देखाउन पाउँदा निकै खुसी हुन्छन्। यति मात्र होइन, आफुले सिकेका कुरालाइ आफ्नै हातले बनाएर हेर्दा उनीहरुको बुझाइ झनै गहिरो हुन्छ र धेरै पछिसम्म पनि ति कुराहरू याद रहन्छन्। यो कुरा हामीले साना बालबालिकामा त प्रशस्त देख्छौँ र उनीहरूले आफ्नो सिकाइमा प्रयोग गरीरहन्छन्। तर आफुले सिकेका तथ्यहरू र सीपहरू प्रयोग गरेर केही सामाग्री चलाएको खण्डमा ठूला बालबालिकाको बुझाईमा पनि सहयोग पुग्छ। उदाहरणका लागि, साना बालबालिकाले ब्लकहरुसँग खेलेमा उनीहरुको ज्यामितिको बुझाइ बलियो हुन्छ।

२. खोजमुलक सिकाइ

आफूले पहिले सिकेको कुरालाई प्रयोगात्मक रुपमा हेर्नु त छँदै छ, त्यस्तै आफुले आफ्नो घरमा, भान्सामा, फूलबारीमा देखेका प्रश्नको उत्तर कक्षाकोठामा र आफ्ना पाठहरूमा भेट्दा पनि विद्यार्थीको सिकाइ अझै बलियो हुन्छ। केही हप्ता अगाडी मैले पढाइरहेको कक्षामा एक विद्यार्थीले एउटा इञ्जिनियरिङ्ग सम्बन्धि तथ्य निकै सहज रुपमा प्रस्तुत गरे। उनी र उनका साथीले सो पाठ माइनक्राफ्ट भन्ने कम्प्युटर गेम खेल्दा सिकेका रहेछन। 

३. वस्तु र संसारको ज्ञान

आफुले किताब र विद्यालयमा सिकेभन्दा धेरै फरक कुराहरू पनि बालबालिकाले जान्नुपर्ने हुन्छ। ती मध्येको एक महत्वपूर्ण ज्ञान आफु बस्ने भौतिक संसारको ज्ञान हो। यो ज्ञान बिषेशत हामी मध्ये धेरै जनाले आफ्नै अनुभवबाट सिक्दछौँ। जीवन जिउनका लागी चाहिने सबै भन्दा आधारभूत ज्ञान, जस्तै चार दिशाहरूको चेत, मौसमको ज्ञान, आफ्नो शरीरको ज्ञान सबै कुनै किसिमको छुकछुकबाट नै सिकिन्छ। त्यस्तै आइज्याक न्युटन, स्टेफेन हकिङ्ग, थोमस एडिसन, रोल्ड डाह्ल, क्वेंटिन ब्लेक, जस्ता वैज्ञानिक, आविष्कारक, लेखक, र कलाकारले पनि आफ्नो ज्ञान र सीपलाइ आफ्नो बाल्यकालको छुकछुकसंग जोडेको पाइन्छ।