बालबालिकाको मानसिक र भावनात्मक स्वास्थ्य : COVID-19 विशेष

आफ्ना बालबालिकाको मानसिक र भावनात्मक स्वास्थ्यको ख्याल राख्न यी चार बुँदाहरू।

हामी सबैजना अहिले एउटा अप्रत्याशित समयबाट गुज्रिदै छौँ। अभिभावकहरुको लागि पनि यो समय निकै नौलो र अनौठो हो। यो समयमा बालबालिकालाई व्यस्त र सिर्जनशील राख्न विभिन्न संस्थाहरूले पहल गरिरहेका छन्। अनलाइन कक्षाहरू, शैक्षिक भिडियो सामग्री जस्ता धेरै कुराहरू इन्टरनेटमा सजिलै भेटिन्छन्। तर यी सबै कुराहरूमा संलग्न हुँदै गर्दा बालबालिकाको मानसिक र भावनात्मक स्वास्थ्यमा यो कठीन समयले निम्त्याएको समस्याहरूलाई समाधान गर्न पनि जरुरी छ। यहाँ दिइएका चार बुँदाहरूलाई मनन गरेर आफ्ना बालबालिकासँग समय बिताउनुभयो भने पक्कै पनि उनीहरुलाई केही सहयोग हुनेछ।

स्क्रिनको विकल्प दिनुहोस्:

यो समयमा बाहिर निस्किन नपाएका बालबालिकाले पक्कै पनि धेरै समय मोबाइल, कम्प्यूटर, टिभी, अथवा अरु कुनै डिजिटल उपकरण प्रयोगमा बिताइरहेका हुन्छन्। अनि अभिभावक भएर हेर्दा हामीलाई पक्कै स्क्रिनको धेरै प्रयोग स्वस्थ हुँदैन भन्ने लाग्छ। तर आफ्ना बालबालिकाको स्क्रिनमा बित्ने समय कम गर्नका लागि उनीहरुलाई त्यसको राम्रो विकल्प दिनुहोस्। जस्तै, खाना खाइसकेपछिको एक घण्टा घरको करेसाबारीमा काम गर्ने अथवा चित्र कोर्ने, साँझ एक घण्टा छतमा बसेर कागजको प्लेन बनाएर उडाउने। उनीहरुलाई मन पर्ने या सिर्जनशील केही क्रियाकलापहरूले पनि उनीहरको स्क्रिन समय घटाउन सहयोग गर्न सकिन्छ।

परिवारलाई समय दिनुहोस्:

अहिलेको समय धेरै चुनौतिपूर्ण छ, तर अलिकति अवसरपूर्ण पनि छ। आफ्ना बालबालिकासँग घरमै बस्ने यति धेरै समय न तपाईँहरूसँग हुन्थ्यो न उनीहरूसंग नै हुन्थ्यो। यो समयलाई उपयोग गर्नुहोस्। उनीहरूलाई आफ्नो काममा सहयोग गर्न लगाउनुहोस्, साथसाथै आफू पनि उनीहरूलाई मन पर्ने खेलहरू उनीहरूसँग बसेर खेल्नुहोस्, उनीहरूलाई मन पर्ने कार्यक्रमहरू हेर्नुहोस्। र यी सबै कुरा गर्दैगर्दा उनीहरूसँग गफ गर्नुहोस्, आफ्नो कुराहरू पनि सुनाउनुहोस्।

आफूलाई समय दिनुहोस्:

घर-परिवार संगसंगै भएको राम्रो र सुरक्षित हो। तर आफ्ना बालबालिकाको समयको पनि कदर गरिदिनुहोस्, उनीहरूलाई आफूसँगै समय बिताउने वातावरण सिर्जना गरिदिनुहोस् जसमा उनीहरूले आफू वरिपरिका घटना, परिस्थिति, र आफ्नो बारेमा आफैंले सोच्न सकुन्। आफूसंग स्वस्थ समय बिताउने बानी विस्तार गर्नका लागि बालबालिकालाई डायरी लेख्ने, ध्यान गर्ने जस्ता काम गर्न प्रोत्साहन गर्नुहोस्।

नियमित तालिका बनाउन सघाउनुहोस्:

बालबालिकाको भागमा धेरै कुरा हुन सक्छन्। अझ माथिका सुझावहरू अवलम्बन गर्ने हो भने त झनै धेरै समय चाहिन्छ। उनीहरूलाई यी कामहरू, र आफूलाई मन पर्ने, रमाइलो लाग्ने कामहरू गर्नका लागि एउटा नियमित तालिका बनाउन सहयोग गर्नुहोस्। नियमित गरिने कुराहरूमा सबैखाले क्रियाकलापको सन्तुलन मिलाउन मद्दत गर्नुहोस्। यदि उनीहरू अनलाइन कक्षा पढिरहेका छन् भने करिब दुइ घण्टा जतिको कक्षापछि आराम गर्न र आफ्नो ध्यान केही बेर अरु काममा लगाउन सुझाव दिनुहोस्। त्यस्तै डिजिटल उपकरण चलाउने समय पनि दिनको दुइ घण्टा भन्दा बढी नराख्न प्रोत्साहन गर्नुहोस्।

अझ  बालबालिकाको मानसिक र भावनात्मक स्वास्थ्यको ख्याल राख्न भीडीयो सामग्री ।

https://www.karkhana.asia/blogs/caring-for-the-whole-human